norefer

norefer
More

    “पैसा होइन, न्याय देऊ “द्वन्द्वपीडित को गुनासो

    - Advertisement -
    - Advertisement -

    इलाम – अझै सम्म न्याय नपाएका द्वन्द्वपीडितले राजनीतिक दलहरू आफ्ना समस्याको विषयमा कहिल्यै गम्भीर नभएको गुनासो गरेका छन् । लामो समयसम्म न्यायको भिख माग्दा पनि नपाएको गुनासो गर्दै उनीहरूले कुनै पनि बहानामा राहत दिएर पीडा मेटाउने प्रयास नगर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरूले न्यायको नाममा रकम दिएर द्वन्द्वपीडितको पीडालाई मार्न नसक्ने बताए ।

    परिपूरणसहित आवश्यक कानुनी व्यवस्था गरेर पीडितलाई न्यायको अनुभूति हुने खालको मापदण्ड तयार गरिनुपर्ने न्यायकालागि द्वन्द्वपीडित समाज नेपाल इलामका अध्यक्ष दामोदर चापागाईको भनाइ छ ।

    बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको १२ औं अन्तर्राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमका सहभागीले द्वन्द्वको पीडा नै नभएको जस्तो गरी राज्य प्रस्तुत भएको बताए । ‘परिवारको मुखिया नभएपछि घरको अवस्था कस्तो भयो होला ?,’ पीडित परिवारकी तेजमाया गुरुङले भनिन्, ‘शिक्षा, स्वास्थ्य, रोजगारलगायतको व्यवस्था भएको भए पनि सन्तोष मान्नु तर केही भएन ।’

    द्वन्द्वकालमा श्रीमान्को हत्या भएपछि विक्षिप्त बनेकी उनी कुनै पनि सर्तमा न्याय पाउनुपर्ने बताउँछिन् । साबिक फाकफोक–१ का टठबहादुर निरौलाको दुखेसो पनि उस्तै छ । ७ भाइमध्ये कान्छा गोकुल राजधानीबाट २०६० भदौमा बेपत्ता भए ।
    ‘मरे बाँचेको खबर त अहिलेसम्म पाएनौं नै, स्मृतिमा केही गरौं भन्न पनि मनले दिँदैन,’ भने, ‘जिउँदै आउने अपेक्षा अहिलेसम्म साँचेका छौं ।’

    इलाममा २१ जना बेपत्ता सूचीमा छन् । बेपत्तासहित द्वन्द्वमा मारिएका, घाइते भएका लगायत २ सय ४५ जनाले राहत पाएका छन् । द्वन्द्वरत दुवै पक्षले युद्धको सिद्धान्त र मान्यतालाई कायम नगरेकाले बेपत्ताहरूको संख्या धेरै भएको सरोकारवालाहरूको भनाइ छ । देशभरमा ६६ हजार व्यक्तिहरू संक्रमणकालीन घटनाहरूको कानुनी रूपमा न्यायको पर्खाइमा छन् । त्यसमध्ये २ हजार ३ सय बेपत्ता छन् । ‘यो समस्या समाधानका लागि राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्छ,’ मानवअधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेले भने, ‘यो गम्भीर मुद्दामा दलहरू पन्छिन पाउँदैनन् ।’ दलहरूले घोषणापत्रमा समेत यो मुद्दा राख्न छाडेको पीडितहरूको बुझाइ छ ।

    आजको कान्तिपुर दैनिक मा प्रकाशित

    - Advertisement -

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -
    norefer

    ताजा अपडेट

    norefer